काठमाडौं, २७ भदौ । सरकारले दसैं, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आगामी असोज ७ गते देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।
आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
राससका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमका चामलमा प्रतिकिलो रु.पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ ।
सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने र उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा सहुलियत सुविधा उपलब्ध गराउने बताएको छ । नूनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो रु सात छुट दिने साल्ट ट्रेडिङले जनाएको छ ।
दुग्ध विकास संस्थानले भने यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ ।