काठमाडौं, ३१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावाकारी बनाउन भन्दै उनले सोमबार प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सरकारले साउनदेखि नै विकास कार्यक्रम कार्यान्वयनमा तिब्रता दिने उनले बताए ।
प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्य सम्पादन सम्झौता गरेका थिए, लगत्तै शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्य सम्पादन सम्झौता गरे ।
मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका छन् । साथै उनले १५ साउनभित्रै कार्य योजना बनाएर एक करोड रुपैयाँभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् ।