काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।