काठमाडौं, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार शपथ खुवाएका हुन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्टै उनी मन्त्री नियुक्त भएका थिए । तर, माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए ।
माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न आदेश भएको थियो ।