काठमाडौं १४ असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो पटक काठमाडौं उपत्यका बाहिर राष्ट्रिय धान दिवस मनाउन लागेको छ । मन्त्रालयले यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१ औं धान दिवस मनाउन लागेको हो ।
मन्त्रालयले चितवनबाट औपचारिक रुपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवी लामिछानेसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र किसानहरु सहभागी हुनेछन् ।
२०६० सालदेखि नेपालमा बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमिम रुपमा धान दिवस मनाउँदै आए पनि काठमाडौंमा मात्रै सीमित थियो ।
९.८ प्रतिशत रोपाइँ सम्पन्न्न
असार १२ गतेसम्ममा देशभर गरी ९.८ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागका महानिर्देशक डा.नरहरिप्रसाद घिमिरेका अनुसार दरले १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा धानको रोपाइँ भएको छ यो तथ्यांक गतवर्षभन्दा केही बढी हो । गत वर्षको असार १० सम्ममा ८.७५ प्रतिशतको हाराहारीमा धानको रोपाइँ भएको थियो ।
नेपालमा धान रोपाइँ हुने कूल क्षेत्रफल १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर छ ।
सरकारी तथ्यांक अनुसार कोशी प्रदेशमा ५.६ प्रतिशतका दरले १५ हजार ३ सय ६० हेक्टरमा धान रोपाइँ भएको छ । त्यस्तै मधेश प्रदेशमा २.९ प्रतिशतका दरले ११ हजार ४०, बाग्मती प्रदेशमा १८.३ प्रतिशतका दरले २० हजार ५ सय ५०, गण्डकी प्रदेशमा ८.३ प्रतिशतका दरले ८ हजार २ सय ४७, लुम्बिनी प्रदेशमा ८.८ प्रतिशतका दरले २७ हजार ५ सय ७०, कर्णाली प्रदेशमा २३.९ प्रतिशतका दरले १० हजार १०, सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशतका दरले ४३ हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा धानको रोपाई भइसकेको छ ।