काठमाडौं, ११ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीले राष्ट्रिय अनुसन्धान विभागलाइ गृह मातहत राख्न माग गरेको बताएका छन् ।
उनले भने,‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय (राष्ट्रिय अनुसन्धान विभाग) चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन ।’
तर, राष्ट्रिय सुरक्षा पेचिलो र संवेदनशील विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा सूचनाको प्राप्ति र विश्लेषण महत्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारिता मध्यनजर गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको बताए ।
विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको उनले बताए ।