चालू आर्थिक वर्ष सकिनै लाग्दा पूँजीगत खर्च आधा पनि हुन सकेन, लक्ष्यको ६४% राजस्व

अनलाइनसमय |
४ असार २०८१
चालू आर्थिक वर्ष सकिनै लाग्दा पूँजीगत खर्च आधा पनि हुन सकेन, लक्ष्यको ६४% राजस्व

काठमाडौं, ३ असार । चालू आर्थिक वर्ष सकिन २८ दिन मात्र बाँकी छ । तर, सरकारले यस वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको कुल बजेट विनियोजनको आधा पनि खर्च गर्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार तीन गतेसम्ममा सरकारले पुँजीगत खर्च १ खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँ गरेको छ, जुन सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको वार्षिक लक्ष्यको ४४ दशमलव ९४ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार सरकारले अझै १ खर्ब ६६ अर्ब ३१ करोडभन्दा बढी खर्च गर्न बाँकी नै छ । उक्त रकम अब सरकारले दैनिक रुपमा ५ अर्ब ९३ करोडभन्दा बढी विकास निर्माणको कार्यमा खर्च परिचालन गर्नु पर्छ ।

सरकारले यो वर्षका लागि छुट्याएको चालु खर्च पनि अपेक्षा अनुसार परिचालन गर्न सकेको छैन । असार ३ गतेसम्ममा सरकारले चालू खर्च ७२ दशमलव २७ प्रतिशत मात्र गरेको छ । सोही अवधिमा सरकारले चालू खर्च ८ खर्ब २५ अर्ब १५ करोड मात्र गरेको छ । चालू आवका लागि सरकारले चालू खर्चतर्फ कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरको थियो । जसअनुसार सरकारले चालूखर्च तर्फ अझै ३ खर्ब १६ अर्ब ६३ करोडभन्दा बढी खर्च गर्न बाँकी नै छ । उक्त रकम सरकारले सक्न दैनिक रुपमा ११ अर्ब ३० करोडभन्दा बढी खर्च परिचालन गर्नु पर्छ ।

यस्तै चालू आव सकिन २८ दिन मात्र बाँकी रहँदा सरकारले वित्त व्यवस्थापनतर्फ २ खर्ब २३ अर्ब ५ करोड मात्र खर्च गरेको छ, जुन सरकारले यो वर्षका लागि लिएको वार्षिक लक्ष्यको ७२ दशमलव ७ प्रतिशत मात्र हो । सरकारले यस वर्षका लागि वित्त व्यवस्थापनतर्फ कुल ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बजेट विनियोजन गरेको थियो ।

चालू आवको असार ३ गतेसम्ममा सरकारले कुल ११ खर्ब ८४ अर्ब ४२ करोड ७२ लाख खर्च गरेको छ, जुन सरकारले यस वर्षका लिएको वार्षिक लक्ष्यको ६७ दशमलव ६३ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट विनियोजन गरेको थियो ।

आम्दानीभन्दा खर्च धेरै, लक्ष्यको ६४ प्रतिशत मात्र राजस्व संकलन

यस वर्ष सरकारले लक्ष्य अनुसारको राजस्व संकलन पनि गर्न सकेको छैन । चालू आवको असार ३ गतेसम्ममा सरकारले ९ खर्ब २१ अर्ब ६६ करोड ९० लाख राजस्व संकलन गरेको छ, जुन यस वर्षका लागि लिइएको वार्षिक लक्ष्यको ६४ दशमलव ७९ प्रतिशत मात्र हो । सरकारले यस वर्षका लागि १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तथ्याङ्क अनुसार यो वर्षको अन्तिम अर्थात् २८ दिनभित्रमा सरकारले ५ खर्ब ८७ अर्बभन्दा बढी राजस्व संकलन गर्नुपर्ने देखिन्छ । जसअनुसार उक्त रकम संकलन गर्न दैनिक रुपमा १७ अर्ब ८८ करोडभन्दा बढी राजस्व संकलन गर्नुपर्छ ।

यस्तै चालू आवको असार ३ सम्ममा सरकारको खर्चभन्दा आम्दानी पनि निकै कम छ । सोही अवधिमा सरकारले ११ खर्ब ८४ करोडभन्दा बढी खर्च गर्दा आम्दानी भने ९ अर्ब २१ करोड ६६ लाख मात्र संकलन भएको छ । असार ३ सम्ममा सरकारले कर राजस्वबाट ८ खर्ब ३१ ऋर्ब ४० करोड संकलन गरेको छ । यस्तै गैर–करबाट ९० अर्ब २६ लाख संकलन गरेको छ भने अनुदानबाट २ अर्ब ७५ करोड ८० लाख संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस