काठमाडौं, ३२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने जानकारी दिए ।
पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको उनको भनाइ छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र सम्बोधन हुने पनि उनले प्रस्ट पारे । हवाई टिकटको अनावश्यक भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने उनको भनाइ छ ।
विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको उनले बताए ।
यसैगरी उनले उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरि कम्तीमा १६ लाख पर्यटक भित्राइने समेत दाबी गरे । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको दाबी छ ।
पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको समेत उनले दाबी गरे । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्या बढाइने उनको भनाइ छ । पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए ।
साथै उनले नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य भएको उनले बताए ।
भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ ।