समग्रमा मुद्रास्फीति घट्दा खाद्य तथा पेय पदार्थको ०.७३ प्रतिशतले बढ्यो

अनलाइनसमय |
२९ जेठ २०८१
समग्रमा मुद्रास्फीति घट्दा खाद्य तथा पेय पदार्थको ०.७३ प्रतिशतले बढ्यो

काठमाडौं, २९ जेठ । पछिल्लो एक वर्ष अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०८१ को वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको छ, जुन गत आवको वैशाखको तुलनामा ३ दशमलव ०१ प्रतिशत विन्दुले कम हो । गत आवको सो अवधिमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो ।

समग्रमा मुद्रास्फीति घटे पनि गत आवको वैशाखको तुलनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति भने बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत रहेको छ, जुन गत आवको सो अवधिको तुलनामा ० दशमलव ७३ प्रतिशत विन्दुले बढी हो । गत आवको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ५४ प्रतिशत थियो ।

यस्तै चालू आवको वैशाख महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ, जुन गत आवको सो अवधिको तुलनामा ६ दशमलव ०२ प्रतिशत विन्दुले घटेको हो । गत अवको वैशाखमा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

सो अवधिमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ ।
वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८ प्रतिशत, ७.१५ प्रतिशत, ७.५७ प्रतिशत र ७.१२ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस