१० महिनामा विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब

अनलाइनसमय |
२९ जेठ २०८१
१० महिनामा विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब

काठमाडौं, २९ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०८१ को वैशाख महिनासम्ममा मुलुकको विदेशी विनिमय सञ्चिति रु.१९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । जुन गत आवको १२ महिना अर्थात् अन्तिम महिना (आसार) सम्मको तुलनामा २६ दशमलव २ प्रतिशतले वृद्धि हो । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो ।

यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा बैशाखसम्ममा भई रु.१७ खर्ब २२ अर्ब २ करोड रहेको छ, गत आवको अन्तिम महिना असारयता २८ प्रतिशतले भएको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति नेपाल राष्ट्र बैंकमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई रु.२ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ ।

२०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

राष्ट्र बैंकका अनुसार चालु आव २०८०÷८१ को १० महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चलू आवको बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस