तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह

अनलाइनसमय |
२ मंसिर २०८३
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौं, २ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र चीनबीचको व्यापारिक तथा पारवहन सम्बन्ध सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् ।

भेटमा मन्त्री खनालले केही समयअघि आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदका कारण चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्था रहेको बताएका थिए ।

काठमाडौंबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल खोल्नुपर्नेमा जोड दिँदै उनले उक्त नाका नेपाल–चीनबीचको ऐतिहासिक मित्रता र कनेक्टिभिटीको महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरे ।

मन्त्री खनालको आग्रहपछि अध्यक्ष याङले सम्बन्धित चिनियाँ निकायसँग आवश्यक समन्वय गरेर पहल गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस