काठमाडौं, १२ कात्तिक । स्पेनको मध्य क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६८ जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् । ठक्करका कारण रेलका केही डिब्बा लिकबाट खसेर भिरालो क्षेत्रमा पुगेका थिए
बीबीसीका अनुसार दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच भएको हो । म्याड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि ठूलो मानवीय क्षति भएको हो ।
निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रेलमा १४७ जना यात्रु सवार थिए । कम्प्युटर प्रणालीमा खराबी आएपछि उक्त रेल रोकिएको थियो । सोही क्रममा सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको इरियोले जनाएको छ । रेन्फेको रेलमा ३९७ जना यात्रु थिए ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक विवरणले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिलाई दुर्घटनाको सम्भावित कारणका रूपमा देखाएको छ । प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था थियो । तर, गति सीमा स्पष्ट रूपमा निर्धारण नगरी रेलहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिइएको विषयलाई मन्त्री पुएन्तेले अस्पष्ट बताएका छन् ।