काठमाडौं, २५ असोज । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । समितिका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको हो ।
आज दिनभर चित्रा नक्षत्र पर्ने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको जनाएको छ । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको सूचना शास्त्रसम्मत नभएको बताइएको छ ।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लासका साथ मनाउने गरिन्छ । घटस्थापनाका दिन घरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिन्छ ।
यस दिन पूजा कोठा वा दशैंघरमा शुद्ध माटो अथवा बालुवा राखेर जौ छर्ने र जमरा उमार्ने परम्परा छ । दुर्गा भवानीलाई प्रिय मानिने जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ । जमरालाई सुख, समृद्धि र विजयको प्रतीकका रूपमा लिइन्छ ।