काठमाडौं, २३ असोज । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो । समितिले बिहीबार नै प्रतिवेदन गृह मन्त्रालय बुझाएको छ ।
एआईजी दाहाल गत १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका ज्वाइँ नाता पर्छन् । असोज ११ गते राणा बाँसबारीस्थित घरबाटै पक्राउ परेपछि लगत्तै हिरासतमा भेट्न पुगेका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार, निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो । एआईजी दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन शाह (बालेन)को मुभमेन्टबारेको सूचना दिएको खुलेको छ ।