काठमाडौं, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् ।
गत फेब्रुअरी २८ तारिखमा अमेरिकाले इजरेलसँग मिलेर ‘अपरेशन एपिक फ्यूरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो । त्यसयता उनले इरानविरुद्ध छिट्टै विजय हासिल गर्ने उद्घोष गर्दै आए पनि दुई देशबीचको द्वन्द्व यथास्थितिमा कायम छ ।
केही अमेरिकी सञ्चारमाध्यमहरूले नोभेम्बरको मध्यावधि चुनावअगाडि नै पेन्टागनले इरानमाथि हमला गर्ने सम्भावनाका विवरण दिइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले इरानसँग अमेरिकाले उनकै शब्दमा ‘सार्थक वार्ता’ गरिरहेको पनि बताए ।
ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका छन् । ‘इस्लामिक गणतन्त्र इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । म सबैलाई स्पष्ट पार्न चाहन्छु कि इरान आर्थिक, सैन्य र दुवै पक्षमा निकै खराब अवस्थामा छ । यसका बावजुद नाकाबन्दी पूर्ण रूपमा कायमै रहने छ । स्ट्रेट अफ होर्मुजबाट उल्लेख्य रूपमा तेल गइरहेको छ । हिजो राति मात्र २२ मिलियन ब्यारेल तेल पार भयो र एक ब्यारेल पनि इरानबाट आएन । न त इरानमा नै गएको छ,’ सामाजिक सञ्जाल ट्रूथ सोसलमा उनले लेखेका छन् ।
‘हामी अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै पनि बेला आक्रमण गर्ने छैनौँ । इरानसँग परमाणु हतियार हुने छैन ।’
यसअघि स्ट्रेट अफ होर्मुज पुनः खुलाउने विषयमा इरानले अघि सारेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए । त्यसपछि तेहरानले अमेरिकी वार्ताकारहरूबाट आधिकारिक धारणाको प्रतीक्षा गर्ने जनाएको थियो ।