काठमाडौं, ७ असोज । नेपालको सार्वजनिक ऋण दायित्व करिब पौने ३० खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण गत असार मसान्तको तुलनामा केही कम हो । आघिल्लो आव असार मसान्तमा यस्तो ऋण २९ खर्ब ८१ अर्ब ७० करोड बराबर थियो । सरकारले प्राप्ति गरेको ऋणको तुलनामा भुक्तानी बढी हुँदा कुल सार्वजनिक ऋण सामान्य घटेको हो । भदौ महिनासम्म विनिमय दरमा भएको नोक्सानीका कारण ४३ करोड ६३ लाख ऋण थप भएको छ ।
यसैगरी, कार्यालयको तथ्याङ्क अनुसार सरकारले भदौमसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड तिर्न बाँकी छ ।
पौने १ खर्ब ऋण भुक्तानी
कार्यालयका अनुसार दुई महिनामा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल ८५ अर्ब १ करोड ६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ, जुन वार्षिक बजेट विनियोजनको २० दशमलव ३४ प्रतिशत हो यस वर्षका लागि सरकारले ऋण सेवा खर्चमा ४ खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेको थियो । सो अवधिमा सरकारले आन्तरिक ऋण ७६ अर्ब ७९ करोड भुक्तानी गरेको छ भने बाह्य ऋण ८ अर्ब २१ करोड रुपैयाँको भुक्तानी गरेको छ ।
जीडीपीको ४५.०५ प्रतिशत सार्वजनिक ऋण
आव २०८३/८४ सम्मको नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४५ दशमलव ०५ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २० दशमलव ६३ प्रतिशत र बाह्य ऋणको हिस्सा २४ दशमलव ४१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
लक्ष्यको ४२.८९ प्रतिशत ऋण प्राप्ती
यसैगरी, चालू आवमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा भदौ मसान्तसम्ममा ६१ अर्ब ५ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ९ दशमलव २८ प्रतिशत हो ।
यस वर्ष आन्तरिकतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा १२ दशमलव २० प्रतिशत अर्थात् २ खर्ब ५० अर्ब रुपैयाँ उठेको छ । त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४ दशमलव ४५ प्रतिशत अर्थात् ११ अर्ब ५ करोड रुपैयाँ प्राप्त भइसकेको ।