काठमाडौं, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य–पश्चिम भू–भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै (बलियो न्युन चापीय क्षेत्र) को रुपमा पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशको तराई भू–भागको थोरै स्थानमा, मधेश प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती कोशी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।