काठमाडौं, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले गत भदौ २३-२४ पछि पनि जनताको आकांक्षा पूरा नभएको र देश अनिश्चितताको अँध्यारो सुरुङमा फसेको बताए ।
‘भदौ २३–२४ पछि परिवर्तन त भयो नि भन्ने जस्तो लाग्छ होला, तर जुन विद्रोह जेका लागि भएको थियो जनतामा आशा जाग्ने काम भएको छैन, जनताको आकांक्षा परिपूर्तितर्फ नभएको मात्र होइन, देश अनिश्चितताको अँध्यारो सुरुङभित्र फसेको छ, राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने, ‘देशले १० वर्षे द्वन्द्व बेहोर्यो, भदौ २३–२४ को नोक्सानी बेहोर्यो, अब थप द्वन्द्व–विद्रोह व्यहोर्न सक्दैन ।’
लिङ्देनले सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने दाबी गरे । आगामी मंसिरमा हुने पार्टी महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने अवसर भएको उनको भनाइ छ ।
उनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्दै चुनाव जित्ने नाममा अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।