काठमाडौं, २८ भदौ । सरकारले अति जोखिममा रहेका हिमतालको पानीको सतह घटाएर सम्भावित हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण गर्ने तयारी थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार जोखिमपूर्ण हिमतालमा आवश्यक परे ब्लास्टिङमार्फत पानीको निकास गराउने विकल्पमा समेत सरकार र विज्ञबीच छलफल भइरहेको छ । जोखिमको वैज्ञानिक मूल्यांकनका आधारमा कुन हिमतालमा यस्तो उपाय अपनाउने भन्ने निर्णय गरिने उनले बताए ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् आउनुअघि नै जोखिम न्यूनीकरणका लागि सरकारले तयारी अघि बढाएको जानकारी दिए । उनका अनुसार जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा घटाउनुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले तत्कालै कुनै निश्चित हिमतालमा काम गर्ने निर्णय भने गरिसकेको छैन । मन्त्री श्रेष्ठका अनुसार विज्ञहरूसँगको परामर्शमा विभिन्न हिमतालको नाम प्रस्तावमा आएका छन् । तीमध्ये जोखिमको मात्रा, सम्भावित क्षति र प्राविधिक अवस्थाको अध्ययन गरेर पानीको सतह घटाउने ताल छनोट गरिनेछ ।
सरकारले यसका लागि ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गर्ने तयारी गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा यही वर्ष जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने काम अघि बढाउने सरकारको योजना छ ।
इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा छन् । तीमध्ये कोसी र गण्डकी जलाधार क्षेत्रमा चार वटा हिमताललाई अति उच्च जोखिममा रहेको पहिचान गरिएको छ ।