काठमाडौं, १८ भदौ । रसुवाको बाढी तथा पहिरो प्रभावित क्षेत्रका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको मालवाहक विमान ‘वाई–२०ए’ मार्फत बिहीबार राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
राहत सामग्रीसँगै बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि १० जना फरेन्सिक विज्ञ पनि नेपाल आएका छन् । उनीहरू नेपाल आएको चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गतका सदस्य हुन् । विज्ञ टोलीले मृतकको पहिचान प्रक्रियामा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछ ।
राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए । मन्त्री पुनले नेपाल आइपुगेका चिनियाँ विज्ञ टोलीको स्वागत गरेका थिए ।
चीनबाट ल्याइएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि प्रयोग हुने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू रहेका छन् ।
त्यस्तै, बाढी तथा पहिरोपछि अवरुद्ध भएको यातायात पूर्वाधार पुनःस्थापना गर्न आवश्यक बेली ब्रिज पनि तेस्रो चरणको राहत सामग्रीमा समावेश गरिएको छ ।
बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्गबाट नेपालतर्फ पठाइसकिएको जनाइएको छ । ती उपकरण लिजी–नेचुङ सीमा नाकामा आइपुगेका छन् ।
चीनले रसुवालगायत बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चरणबद्ध रूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।