काठमाडौं, १५ भदौ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । एक वर्षमै वैदेशिक अध्ययनका लागि करिब साढे १ खर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आव २०८३/८४ मा वैदेशिक अध्ययनका लागि १ खर्ब ४१ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ, अघिल्लो आवको तुलनामा २ दशमलव ५ प्रतिशतले बढी हो । आव २०८२/८३ मा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ थियो ।
शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै २ खर्ब ९ अर्ब १० करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको भदौको तुलनामा ६ दशमलव ५ प्रतिशतले कम हो । अघिल्लो वर्षमा यस्तो खर्च २ खर्ब २३ अर्ब ७२ करोड रहेको थियो ।
गत आवमा खुद सेवा आय ७३ अर्ब ६० करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय ९० अर्ब ३० करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च १ दशमलव ५ प्रतिशतले वृद्धि भई ९० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आय ८८ अर्ब ७१ करोड रहेको थियो ।