काठमाडौं, १ भदौ । डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण हालसम्म २ हजार ३२५ जनाको मृत्यु भएको छ, जसले सन् २०१८ देखि २०२० को प्रकोपको मृतक सङ्ख्यालाई पछाडि पार्दै देशकै इतिहासकै सबैभन्दा घातक प्रकोप बनेको छ ।
कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका अनुसार पछिल्लो २४ घण्टामा १०१ नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ४ हजार ९४५ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिरहेको बताउँदै तुरुन्तै व्यापक र ऐक्यबद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
‘यो प्रकोप अहिलेसम्मकै तीव्र गतिमा फैलिरहेको छ,’ फ्लेचरले भन,े ‘यो भाइरस हामीभन्दा अझ अगाडि बढ्नुअघि हामीलाई गति, ठूलो मापन र ऐक्यबद्धताको आवश्यकता छ ।’
डीआरसीको १७ औँ प्रकोपको रूपमा रहेको यो इबोला प्रकोप सङ्क्रमणका आधारमा जुलाईको अन्त्यमै देशको इतिहासकै सबैभन्दा ठूलो बनेको थियो । सरकारको पछिल्लो तथ्याङ्कले कुल मृतक सङ्ख्या सन् २०१८–२०२० को प्रकोपमा दर्ता भएको २ हजार २९९ मृत्युलाई नाघेको छ, जुन यसअघि देशको इतिहासकै सबैभन्दा खराब प्रकोप थियो ।
भाइरस नियन्त्रणका पछिल्ला प्रयासहरूको रूपरेखा प्रस्तुत गर्दै फ्लेचरले भने, ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गोमा इबोला जितिरहेको छ । हामी भाइरसलाई हाम्रो प्रतिक्रियाभन्दा अगाडि बढ्न दिन सक्दैनौँ ।’
बुधबार विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयससले हालकै गतिमा अघि बढेमा यो प्रकोपले सन् २०१४ देखि २०१६ को पश्चिम अफ्रिकी इबोला प्रकोपलाई पनि पछाडि पार्ने बताए । उक्त पश्चिम अफ्रिकी संकटले ११ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो र खोप विकासको प्रयासलाई तीव्र बनाएको थियो ।
हालको प्रकोप इबोला भाइरसको ‘बुन्डिबुग्यो’ प्रजातिका कारण भएको हो, जसका लागि कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन । मे १५ मा प्रकोप घोषणा भएदेखि नै कमजोर स्वास्थ्य पूर्वाधार, दुर्गम भूगोल, र दक्षिण सुडान, युगान्डा तथा रुवान्डासँगकाका सीमावर्ती क्षेत्रमा जारी द्वन्द्वका कारण नियन्त्रणका प्रयासहरूमा बाधा पुग्दा यसले थप तीव्र रूप लिएको छ ।
सरकारी तथ्याङ्क अनुसार, सङ्क्रमण पुष्टि भएका मानिसहरूमध्ये मृत्यु हुनेहरूको अनुपात (केस फ्याटालिटी रेसियो) जुनको सुरुमा करिब २० प्रतिशत रहेकोमा बढेर ४६ प्रतिशत पुगेको छ, जसको अर्थ प्रत्येक दुई पुष्टि भएका मामिलामध्ये लगभग एक जनाको मृत्यु भइरहेको छ।