काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेर आएपछि निगमले गए राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो ।
मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यअनुसार अब १४.२ केजी क्षमताको एलपी ग्यासको सिलिन्डर दुई हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि यसको मूल्य दुई हजार एक सय ६० रुपैयाँ कायम थियो । त्यस्तै, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ तोकिएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा ग्यासको मूल्य पनि घटेर आएपछि नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाएर एक हजार ५६६ अमेरिकी डलर कायम गरिएको छ । पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने निगमले ‘ब्रेकइभन पोइन्ट’ अर्थात् नाफा–घाटा नहुने आधारमा मूल्य निर्धारण गरेको जनाएको छ । सोअनुसार पोखरामा प्रतिकिलोलिटर एक हजार १०० अमेरिकी डलर र भैरहवामा एक हजार ८५ अमेरिकी डलर कायम गरिएको छ ।