काठमाडौं, १४ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा ३–४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि वर्षा मध्यमसम्मको भईरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी, तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।