विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौतिसम्बन्धी अन्तरक्रिया

अनलाइनसमय |
११ असार २०८३
विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौतिसम्बन्धी अन्तरक्रिया

काठमाडौं, ११ असार । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौति एवम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्युतीय सवारी साधनको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, मूल्याङ्कनमा देखिएका समस्या एवम् चुनौति पहिचान गरी समाधानका उपाय पहिल्याउने र सवारी साधान बीमा सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्ने सन्दर्भमा सुझावहरू सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भ राज लामिछानेले बजारमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा परम्परागत मोटर बीमालेखलाई परिमार्जन गर्ने कि छुट्टै विद्युतीय सवारी साधन बीमालेख ल्याउने भन्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

निर्देशक लामिछानेले विद्युतीय सवारी साधन सम्बन्धी छुट्टै बीमालेख ल्याउनु आवश्यक भएमा विद्युतीय सवारी साधन निर्माता, डिलर, यातायात व्यवसायी, बीमक, बीमा सर्भेयर लगायत सबै सरोकारवालाहरूबाट सुझावहरू लिइने बताए ।

निर्देशक लामिछानेले जोखिम विश्लेषणका लागि विद्युतीय सवारी साधनको आयात, बिक्री, प्रयोग, क्षति, मर्मत सम्भार, बीमा सर्भे, दाबी र भुक्तानी लगायतको तथ्याङ्क आवश्यक पर्ने भएकाले ती सम्बन्धी समग्र विषयको सही तथ्याङ्क राख्न सम्बद्ध सबैसँग आग्रह गरे ।
यस्तै, बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सरकारले ल्याएको तेस्रो पक्ष बीमा सम्बन्धी नीति बमोजिम विद्यमान मोटर बीमालेखको परिमार्जन र विद्युतीय सवारी साधन बीमालेखका सन्दर्भमा सरोकारवाला सबैको सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्युतीय सवारी साधनको क्षति मूल्याङ्कनमा एकरूपता, समस्या तथा चुनौतिहरूको सम्बोधनमा स्पष्टता र ह्रास कट्टी लगायत समसामयिक विषयमा सुझाव दिन सबैसँग आग्रह गरे ।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनका तर्फबाट विद्युतीय सवारी साधनको वर्तमान अवस्था, समस्या तथा चुनौति र समाधानका उपायहरू तथा रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्सका तर्फबाट विद्युतीय सवारी साधनको बीमा सम्बन्धी प्रस्तुती गरिएको थियो ।

यसैगरी, नेपाल सर्भेयर संघका तर्फबाट विद्युतीय सवारी साधन सर्भेको वर्तमान अवस्था, समस्या तथा चुनौति र समाधानका उपायहरू तथा बीमक संघ, नेपालका तर्फबाट विद्युतीय सवारी साधनको दाबी भुक्तानीको विद्यमान अवस्था, समस्या तथा चुनौति र समाधान उपायहरू सम्बन्धी प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले परम्परागत सवारी साधानहरूको तुलनामा विद्युतीय सवारी साधनहरू महङ्गो हुने गरेका कारण बीमा दाबी बढी हुने गरेको, मर्मत सम्भारको जिम्मा धेरैजसो निर्माता र डिलर आफैले लिने गरेका कारण मर्मत सम्भारभन्दा पनि पार्टपूर्जा फेर्न जोड दिने गरेकाले खर्च बढ्ने गरेको, जोखिम मूल्याङ्कन सही रूपमा हुने नगरेको र विद्युतीय सवारी साधनको बीमाका लागि छुट्टै बीमालेख आवश्यक भएको धारणा राखेका थिए ।

यसैगरी, विद्युतीय सवारी साधनका चालकहरूका लागि तालिम आवश्यक भएको, मर्मतका लागि पर्याप्त सङ्ख्यामा वर्कसप नभएको, ब्याट्रीको ह्रासकट्टी बढी भएको, सरकारले विद्युतीय सवारी साधन आयातमा सहुलियत दिएको तर पार्टपूर्जामा भने सहुलियत नदिएका कारण मर्मत सम्भार खर्च बढी हुने गरेकाले यस सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने देखिएको र विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको उपयोग तथा क्षतिपछिको व्यवस्थापन सम्बन्धी नीति ल्याउनु आवश्यक रहेको लगायतका विचार सहभागीहरूले व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा उपनिर्देशकहरू, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ र बीमक संघ, नेपालका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया
नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीको उपयोगिता एवम् प्रभावकारिता, बैकल्पिक वितरण प्रणालीको विद्यमान अवस्था, टेलिफोन, इन्टरनेट पेमेन्ट गेटवे र डिजिटल वालेट जस्ता संस्थाहरूलाई बैकल्पिक वितरण प्रणालीमा समावेशको अवसर तथा चुनौती लगायतका विषयमा अनुभव आदान–प्रदान गर्ने, छलफल गर्ने र सुझावहरू सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीलाई प्रभावकारी रुपमा अगाडि बढाउने सन्दर्भमा आइपर्ने समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने बताए ।

यस्तै, प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीको सम्भावना सम्बन्धी प्रस्तुती गर्नुहुँदै प्राधिकरणले बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीलाई अझ सशक्त रूपमा अगाडि बढाउने सन्दर्भमा अध्ययन गर्दै आएको जानकारी दिए ।

उपनिर्देशक कुँवरले बैकल्पिक वितरण प्रणाली मार्फत बैदेशिक रोजगारीमा गएका लगायत बीमाको पहुँच नपुगेका स्थान र बर्गमा सहज रूपमा बीमा सेवा पु¥याउन सकिने भएकाले प्राधिकरणले यस प्रणालीको विस्तारलाई प्रोत्साहन गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल टेलिकम, एनसेल, पेमेन्ट गेटवे र डिजिटल वालेटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस