काठमाडौं, ४ असार । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत पहिलो राउन्डका खेलहरूसकिएका छन् । बिहीबार बिहान समूह के र एलका खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन् ।
पहिलो राउन्डको नतिजा आएसँगै केही दाबेदार टोलीहरूले सानदार जित निकाल्दै सुखद सुरुआत गरेका छन् भने केही ठूला शक्तिहरू पहिलो खेलमै दबाबमा छन् ।
प्रतियोगितामा समूह ‘ए’ बाट मेक्सिको र दक्षिण कोरिया, समूह ‘सी’ बाट स्कटल्याण्ड, समूह ‘डी’ बाट अमेरिका र अष्ट्रेलिया, तथा समूह ‘ई’ बाट जर्मनी र आइभोरीकोस्टले ३/३ अंक बनाउन सफल भएका छन् ।
यस्तै, समूह ‘एफ’ बाट स्वीडेन, समूह ‘आई’ बाट नर्वे र फ्रान्स, समूह ‘जे’ बाट साविक विजेता अर्जेन्टिना र अस्ट्रिया, समूह ‘के’ बाट कोलम्बिया, र समूह ‘एल’ बाट इङ्गल्याण्ड र घानाले ३/३ अंक बटुलेका छन् ।
अर्कोतर्फ, पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक मात्र बटुलेका छन् । समूह ‘बी’ का सबै टोलीहरू क्यानडा, बोस्निया, कतार र स्विट्जरल्याण्ड, समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का उरुग्वे, साउदी अरेबिया, स्पेन र केप भर्डो १–१ अंकमा समेटिएका छन् ।
यसबाहेक समूह ‘सी’ बाट ब्राजिल र मोरक्को, समूह ‘एफ’ बाट जापान र नेदरल्याण्ड्स, तथा समूह ‘के’ बाट डीआर कंगो र पोर्चुगलले पनि बराबरी खेल्दै १ अंक मात्र जोडेका छन् ।
पहिलो खेलको यो नतिजाले अब सुरु हुने समूह चरणको दोस्रो राउन्डमा टोलीहरूमाथि दबाबमा परेको छ । यी देशले अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न दोस्रो खेलमा स्पष्ट जित निकाल्नै पर्ने हुन्छ ।
त्यस्तै, पहिलो खेलमै पराजित भएर अंकविहीन बनेका क्रोएसिया, टर्की, सेनेगल र इक्वेडर जस्ता बलिया टोलीहरूमाथि अब ‘गर या मर’ को स्थिति रहनेछ । दोस्रो खेलमा पनि अंक गुमाएमा उनीहरूको विश्वकप यात्रा समूह चरणबाटै टुङ्गिन सक्छ ।
३ अंक जोडिसकेका अर्जेन्टिना, जर्मनी, फ्रान्स र इङ्गल्याण्ड जस्ता टोलीहरू भने दोस्रो राउन्डमा पनि जित निकाल्दै एक खेल अगावै नकआउट चरणमा आफ्नो स्थान पक्का गर्ने सहज दाउमा मैदान उत्रनेछन् ।
दोस्रो राण्डमा बिहीबार समूह एका चेकिया र दक्षिण अफ्रिका तथा मेक्सिको र दक्षिण कोरिया समूह बीका स्विटजरल्यान्ड र बोस्निया एन्ड अर्जगोभिना तथा क्यानडा र कतार खेल्ने तालिका छ ।