इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग चाहिँदैन : ट्रम्प

अनलाइनसमय |
३० वैशाख २०८३
इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग चाहिँदैन : ट्रम्प

काठमाडौं, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन् । शान्ति सम्झौताको सम्भावना कमजोर बन्दै जाँदा इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण अझ बलियो बनाएको छ ।

बेइजिङमा हुने महत्वपूर्ण शिखर सम्मेलनअघि ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको सहयोग लिएर युद्ध समाधान गर्नुपर्ने आवश्यकता नदेखिएको बताएका हुन् । उक्त युद्धका कारण विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने समुद्री मार्ग अवरुद्ध भइरहेको छ ।

मंगलबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘इरानका विषयमा हामीलाई कसैको सहयोग चाहिँदैन । शान्तिपूर्ण वा अन्य जुनसुकै तरिकाले भए पनि हामी जित्नेछौं ।’ अस्थायी युद्धविराम लागू भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षबीच युद्ध अन्त्य गर्ने सहमति हुन सकेको छैन ।

यसबीच इरानले इराक र पाकिस्तानसँग तेल तथा तरलीकृत प्राकृतिक ग्यास ढुवानीसम्बन्धी सम्झौता गर्दै हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण थप मजबुत बनाएको स्रोतहरूले बताएका छन् । अन्य देशहरूले पनि यस्तै सम्झौताको सम्भावना खोजिरहेको जनाइएको छ ।

ट्रम्प प्रशासनले मंगलबार अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूले गत महिना कुनै पनि देशले उक्त समुद्री मार्ग प्रयोग गर्ने जहाजसँग शुल्क लिन नपाउने विषयमा सहमति जनाएको बताएको छ । चीनले पनि त्यस दाबीको विरोध गरेको छैन ।
ट्रम्पले बिहीबारदेखि शुक्रबारसम्म हुने भेटवार्तामा सीसँग इरान युद्धबारे छलफल गर्नेछन् । उनले चीनलाई इरानलाई अमेरिकासँग सम्झौता गर्न दबाब दिन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्नुपर्ने र हर्मुजमाथिको नियन्त्रण हटाउनुपर्ने माग राखेको छ ।
इरानले भने युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, अमेरिकी नाकाबन्दी अन्त्य तथा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्नुपर्ने माग राखेको छ । लेबनानमा अमेरिकी सहयोगी इजरायल समर्थित युद्धमा इरान समर्थित हिजबुल्लाह समूह संलग्न छ । ट्रम्पले सोमबार इरानका यी मागलाई ‘बेकार कुरा’ भन्दै अस्वीकार गरेका थिए ।

युद्धका कारण हर्मुज जलमार्ग लगभग बन्द भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०७ डलरभन्दा माथि पुगेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन अरब सागरमा अमेरिकी नाकाबन्दी कार्यान्वयनमा रहेको जनाएको छ । उक्त जहाजले ६५ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गराएको तथा चारवटा जहाज निष्क्रिय बनाएको बताइएको छ ।

पेन्टागनका अनुसार हालसम्म युद्धको लागत २९ अर्ब डलर पुगेको छ, जुन गत महिनाको अनुमानभन्दा ४ अर्ब डलर बढी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस