काठमाडौं, २७ वैशाख । काठमाडौंस्थित पाकिस्तान दूतावासले आज ‘मार्का–ए–हक’ दिवस औपचारिक कार्यक्रमसहित मनाएको छ । दूतावास परिसरमा आयोजित कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा दूतावासका अधिकारी, नेपालीस्थित पाकिस्तानी समुदायका सदस्य, उनीहरूका परिवार तथा विभिन्न अतिथिहरूको उपस्थिति थियो ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देशमा ‘मार्का–ए–हक’ ले विश्वलाई पाकिस्तानको सुरक्षा क्षमता केवल नारा मात्र नभई व्यावसायिक दक्षता, तीनै सेनाबीचको समन्वय र आक्रमणको सामना गर्ने दृढ इच्छाशक्तिमा आधारित रहेको देखाएको उल्लेख गरिएको थियो । उनले देशका शहीद र सुरक्षाकर्मीहरूको बलिदानप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै कठिन परिस्थितिमा पाकिस्तानले देखाएको साहस र एकताबद्ध रूपमा प्राप्त सफलताको स्मरण गरे । उनले स्थल, जल, वायु र साइबर क्षेत्रमा सेनाको समन्वित भूमिकाले पाकिस्तानलाई मजबुत राष्ट्रका रूपमा स्थापित गरेको बताएका छन् ।
उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इस्हाक दारले दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि जम्मु–कश्मीर मुद्दाको न्यायपूर्ण समाधान आवश्यक रहेको उल्लेख गरे । उनले संवाद, कूटनीति र आपसी सम्मानमार्फत समस्या समाधान गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तानको सार्वभौमसत्ता रक्षा गर्न सेनाले देखाएको साहस, बलिदान र समयमै गरिएको कारबाहीको प्रशंसा गरे । उनले पाकिस्तानी जनताको एकता र दृढताले देशको अखण्डता जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।