विजय बने तमिलनाडुका मुख्यमन्त्री

अनलाइनसमय |
२७ वैशाख २०८३
विजय बने तमिलनाडुका मुख्यमन्त्री

काठमाडौं, २७ वैशाख । थलापति विजय तमिलनाडु राज्यका नयाँ मुख्यमन्त्री बनेका छन् । बीबीसीका अनुसार केही दिनदेखिको राजनीतिक अन्योल अन्त्य गर्दै उनले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

५१ वर्षीय विजयले स्थापना गरेको नयाँ राजनीतिक दल ‘तमिलगा वेत्री कझगम’ (टीभीके) ले हालै सम्पन्न विधानसभा निर्वाचनमा १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो । तर २३४ सदस्यीय विधानसभा मा सरकार बनाउन आवश्यक बहुमतभन्दा उनी १० सिटले पछि परेका थिए ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै भारतीय राष्ट्रिय कांग्रेसले विजयलाई समर्थन गर्ने घोषणा गरेको थियो । त्यसपछि विभिन्न साना दलहरूको समर्थन जुटाएपछि विजयले बहुमत पु¥याउन सफल भएका हुन् ।

टीभीकेलाई भारतीय कम्युनिष्ट पार्टी (सीपीआई), भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी), विदुथलाई चिरुथाइगल काची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) ले समर्थन गरेका छन् । यी चार दलका दुई–दुई सांसद रहेकाले विजयको पक्षमा १२० सांसद पुगेका छन् ।

समर्थन सुनिश्चित भएपछि तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले विजयलाई सरकार गठनका लागि निमन्त्रणा दिएका थिए । शनिबार राति उनलाई मुख्यमन्त्री नियुक्तिको पत्र प्रदान गरिएको हो ।

राजधानी चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आइतबार बिहान आयोजित विशेष समारोहमा विजयले मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनीसँगै नौ जना मन्त्रीले पनि शपथ ग्रहण गरे । समारोहमा कांग्रेस नेता राहुल गान्धीसहित विभिन्न राजनीतिक दलका नेता, चलचित्रकर्मी तथा उद्योगीहरूको उपस्थिति रहेको थियो ।

‘थलापति विजय’ नामले परिचित विजय भारतीय चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता हुन् । उनले ६९ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । उनी भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारमध्ये एक मानिन्छन् ।

उनको राजनीतिक उदयलाई पूर्व अभिनेता तथा तमिलनाडुका पूर्व मुख्यमन्त्री एमजी रामचन्द्रनसँग तुलना गरिएको छ । विजय विशेषगरी युवा र महिलामाझ निकै लोकप्रिय मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस