भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड

अनलाइनसमय |
२५ वैशाख २०८३
भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड

काठमाडौं, २५ वैशाख । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ ।

भ्रष्टाचारको मामिलामा सैनिक अदालतले बिहीबार दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई दुई वर्षे स्थगनसहित मृत्युदण्डको सजाय सुनाएको हो । यसको अर्थ दुई वर्षपछि उनीहरूको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेछ र त्यसपछि सजाय घटाउने वा प्यारोलको सुविधा पनि उपलब्ध नहुने सिन्ह्वाले जनाएको छ ।

चीनको कानुनी व्यवस्थामा निलम्बित मृत्युदण्ड भनेको तुरुन्त कार्यान्वयन नगरिने मृत्युदण्ड हो । सामान्यतया दुई वर्षसम्म दोषीले थप गम्भीर अपराध नगरे सजायलाई आजीवन काराबासमा रूपान्तरण गरिन्छ ।

दुवै जनालाई घुस लिएको अभियोगमा दोषी ठहर गरिएको छ भने उनीहरूको सबै व्यक्तिगत सम्पत्ति जफत गरिएको छ । राष्ट्रपति सी चिनफिङ नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाइरहेको छ । सोही अभियानअन्तर्गत हालै उच्च सैन्य अधिकारीहरूलाई हटाउने क्रम चलिरहेका बेला यो घोषणा आएको हो ।

वेइले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मार्च २०२३ मा उनलाई हटाएर लीलाई रक्षामन्त्री बनाइएको थियो । तर लीको कार्यकाल निकै छोटो रह्यो । सार्वजनिक जीवनबाट अचानक गायब भएको दुई महिनापछि अक्टोबर २०२३ मा उनलाई पदबाट हटाइएको थियो ।

रोयटर्सका अनुसार सिन्ह्वाका पुराना रिपोर्टहरूले लीमाथि ‘अत्यधिक रकम’ घुस लिएको र अरूलाई पनि घुस दिएको आरोप लागेको उल्लेख गरेका थिए । अनुसन्धानले उनले राजनीतिक जिम्मेवारी पूरा नगरेको तथा आफ्नो र अरूको व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको बताइएको छ ।

त्यस्तै, २०२३ मा वेइमाथि सुरु गरिएको अनुसन्धानले पनि उनले ठूलो रकम र बहुमूल्य सामग्री घुसस्वरूप लिएको तथा कर्मचारी नियुक्तिमा अरूलाई अनुचित लाभ दिलाएको पाइएको जनाएको छ ।

फेब्रुअरीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सैन्य क्षेत्रमा भइरहेको भ्रष्टाचारविरुद्धको अभियानबारे दुर्लभ सार्वजनिक टिप्पणी गरेका थिए । यस अभियानअन्तर्गत हालै चीनका शीर्ष सैन्य अधिकारी झाङ योउस्यालाई पनि हटाइएको थियो ।
त्यस क्रममा सीले सेना ‘भ्रष्टाचारविरुद्धको संघर्षबाट क्रान्तिकारी रूपमा शुद्धिकरणको प्रक्रियाबाट गुज्रिएको’ बताएका थिए ।

सत्तामा आएयता राष्ट्रपति सीले पटक–पटक भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका छन् । आलोचकहरूले भने यी अभियान राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमका रूपमा पनि प्रयोग भएको आरोप लगाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस