काठमाडौं, २३ वैशाख । रुसले घोषणा गरेको दुईदिने एकपक्षीय युद्धविराम सुरु हुनुअघि नै युक्रेनका विभिन्न क्षेत्रमा भएको ड्रोन र मिसाइल आक्रमणमा २७ जनाको मृत्यु भएको छ ।
अलजजिराका अनुसार मंगलबार दक्षिण–पूर्वी सहर जापोरिजियामा रुसी ‘ग्लाइड बम’ प्रहार हुँदा १२ जनाको ज्यान गएको छ । स्थानीय गभर्नर इभान फेदोरोभका अनुसार कार मर्मत केन्द्र र आवासीय भवनहरूमा ठूलो क्षति पुगेको यो आक्रमण यस वर्षकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । घटनामा २० जना घाइते भएका छन् ।
डोनेट्स्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर क्रामाटोस्र्कमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यस्तै दिनिप्रो क्षेत्रमा थप चार जनाले ज्यान गुमाएका छन् ।
पोल्टावा र खार्किभ क्षेत्रमा रहेका युक्रेनी ग्यास पूर्वाधारमा रातभर भएको आक्रमणमा तीन कर्मचारी र दुई उद्धारकर्मीको मृत्यु भएको ऊर्जा कम्पनी ‘नाफ्तोग्यास’का प्रमुख सेर्ही कोरेत्स्कीले जानकारी दिएका छन् । यस घटनापछि करिब ३ हजार ५०० ग्राहकको ग्यास आपूर्ति प्रभावित भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेन्स्कीले रुसले युद्धविरामको घोषणा गर्दै पनि लगातार आक्रमण जारी राख्नु ‘अर्थहीन आतंकवादी गतिविधि’ भएको टिप्पणी गरेका छन् ।
रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको विजय दिवसको अवसरमा मे ८ देखि ९ सम्म युद्धविराम घोषणा गरेको हो । तर त्यसको जवाफमा युक्रेनले बुधबार मध्यरातदेखि लागू हुने गरी अनिश्चितकालीन युद्धविराम प्रस्ताव गरेको थियो ।
युक्रेनी वायुसेनाका अनुसार सोमबार साँझदेखि रुसले ११ वटा ब्यालिस्टिक मिसाइल र १६४ वटा ड्रोन प्रहार गरेको थियो । युक्रेनले १४९ ड्रोन र एउटा मिसाइल खसालेको दाबी गरे पनि आठ मिसाइल र १४ ड्रोनले १४ स्थानमा क्षति पु¥याएको उल्लेख छ ।