इरानका विदेशमन्त्री अराघची चीनमा, के–के भयो छलफल ?

अनलाइनसमय |
२३ वैशाख २०८३
इरानका विदेशमन्त्री अराघची चीनमा, के–के भयो छलफल ?

काठमाडौं, २३ वैशाख । अचानक चीन पुगेका इरानका विदेशमन्त्री अब्बास अराघचीले उनका चिनियाँ समकक्षी वाङ यीसँग भेट गरेका छन् । अराकचीले बुधबार बेईजिङमा वाङ यीसँग भेटवार्ता गरेको इरानको तसनिम समाचार एजेन्सीले जनाएको छ ।

इरान र चीनले क्षेत्रीय घटनाक्रम तथा इरानमाथि भएको अमेरिका–इजरायलको सैन्य आक्रमणका प्रभावबारे परामर्शलाई तीव्र बनाइरहेका बेला यो भेट भएको हो ।

अमेरिका र इजरायलका कदमहरूले इरानमाथि बढाएको क्षेत्रीय तनावको अवस्थामा दुई देशबीचको समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले यो कूटनीतिक भ्रमण गरिएको बताइएको छ ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको इरानविरुद्धको युद्धपछि यो अराकचीको चीनको पहिलो भ्रमण हो । तर यसअघि पनि दुवै विदेशमन्त्रीबीच टेलिफोनमार्फत नियमित संवाद भइरहेको थियो ।

भेटमा दुवैले क्षेत्रीय सुरक्षा अवस्था, पश्चिम एशियामा विदेशी सैन्य गतिविधिका असर र दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल गरेका छन् ।

चीनले इरानको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्ने भन्दै क्षेत्रीय विवादको समाधान कूटनीतिक रूपमा हुनुपर्ने बताउँदै आएको छ । साथै, बेईजिङले द्वन्द्व समाधानका लागि कूटनीतिक उपायहरू अपनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

यो वार्ता आगामी साता बेईजिङमा हुने चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको शिखर बैठकअघि भएको हो ।

अमेरिका–इजरायल युद्ध सुरु भएपछि फारसी खाडी र स्ट्रेट अफ होर्मुज क्षेत्रमा तनाव बढेको छ । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने यस जलमार्ग अहिले अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस