कम्बोडियाबाट फर्किन चाहने ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार

अनलाइनसमय |
२३ वैशाख २०८३
कम्बोडियाबाट फर्किन चाहने ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं, २३ वैशाख । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ ।

दूतावासको अनुरोध अनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त डकुमेन्ट तयार पारिएको हो ।

दूतावासले आज (बुधबार) बेलुकासम्म फाराम भर्नेहरूको डकुमेन्ट भोलि पठाइने जानकारी दिँदै फाराम भर्न बाँकी रहेकाहरूलाई अनलाइन लिङ्कमार्फत तुरुन्त आफ्नो विवरण बुझाउन अनुरोध गरेको छ ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।

सोमबार एक अत्यन्त जरुरी अनुरोध जारी गर्दै राजदूतावासले आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन अपिल गरेको थियो । यस्ता कार्यमा संलग्न भएको भए तुरुन्त बन्द गरी नेपाल फर्कन दूतावासले आग्रह गरेको छ ।

धेरै नेपाली नागरिकहरू पर्यटनको बहानामा कम्बोडिया जाने र भिसाको अवधि समाप्त भएपछि पनि त्यहाँ बसिरहेको तथा केही नेपालीहरू अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी राजदूतावासलाई प्राप्त दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएकाले यसलाई नियन्त्रण गर्न र अन्त्य गर्न कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको छ । नयाँ कानूनअनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था छ । साथै, कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ ।

उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायतका मुलुकहरूमा रोजगारीका लागि नजान दूतावासले पुनः अनुरोध गरेको छ । विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर र रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरेर मात्र जान दूतावासले सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस