काठमाडौं, १७ वैशाख । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नाकाबन्दी लम्ब्याउने तयारी गरेको विवरण सार्वजनिक भएपछि तेलको मूल्य ह्वात्तै बढेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानमाथि “छोटो तर शक्तिशाली” आक्रमणहरूको श्रृंखला सञ्चालन गर्ने योजना तयार गरेको बताइएको छ । यो कदम तेहरानसँगको वार्तामा देखिएको गतिरोध तोड्ने उद्देश्यले ल्याइएको हो, भन्ने समाचार साइट एक्सियोसेले जनाएको ।
ब्रेन्ट कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले ले बढेर प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन २०२२ मा रुसले युक्रेनमा पूर्ण आक्रमण गरेयता कै उच्च हो ।
यस साता शान्ति वार्ता रोकिएको र स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्दजस्तै भएपछि ऊर्जा मूल्य बढिरहेका छन् ।
अमेरिकाले इरानले जहाजलाई धम्की दिइरहेसम्म इरानी बन्दरगाहहरू नाकाबन्दी गर्ने चेतावनी दिएको छ । जवाफमा इरानले उक्त जलमार्ग हुँदै जाने जहाजमा आक्रमण गर्न सक्ने बताएको छ ।
एक्सियोसेको रिपोर्टले गोप्य स्रोतहरूको आधारमा भनेएको छ, ‘प्रस्तावित आक्रमणहरूमा पूर्वाधार लक्ष्यहरू पनि समावेश हुन सक्छन् ।’
अर्को योजनाअनुसार स्ट्रेट अफ होर्मुजको केही भाग नियन्त्रणमा लिएर त्यसलाई व्यापारिक जहाजका लागि पुनः खुला गर्ने विचार गरिएको छ, जसका लागि स्थलमा सैनिक परिचालनसमेत आवश्यक पर्न सक्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी बन्दरगाह र ढुवानीमाथिको नाकाबन्दीलाई महिनौँसम्म लम्ब्याउन सकिने सम्भावनाबारे ऊर्जा क्षेत्रका कार्यकारीहरूसँग मङ्गलवार छलफल गरेका थिए ।
इरान युद्ध सुरु हुनुअघि विश्वभरि निर्यात हुने पेट्रोलिअम पदार्थमध्ये २० प्रतिशतजति सामान्य अवस्थामा होर्मुज जलमार्ग हुँदै ढुवानी हुँदै आएको थियो । हाल युद्धविरामको अवस्था रहे पनि अमेरिकाले इरानविरुद्ध सामुद्रिक नाकाबन्दी जारी राखेको छ ।
अमेरिकाले इरानविरुद्ध नाकाबन्दीलाई निरन्तरता दिने सङ्केत सार्वजनिक भएपछि अहिले तेलको मूल्यमा प्रभावित भएको हो ।