काठमाडौं, ६ वैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।