काठमाडौं, २९ चैत । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच.इ. धनञ्जय रामफल र सिंगापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.इ। जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए ।
त्यस्तै, शनिबार नै सेशेल्स गणतन्त्रका परराष्ट्र तथा प्रवासी मामिला सम्बन्धी प्रतिनिधि महामहिम ब्यारी फाउरेसँग पनि भेटवार्ता गरेका थिए । दुवै पक्षबीच नेपाल र सेशेल्सबीच कूटनीतिक सम्बन्धलाई थप गहिरो बनाउने तथा सहकार्यका क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।