पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध ७.७८ करोडको भ्रष्टाचार मुद्दा दायर

अनलाइनसमय |
२६ चैत २०८२
पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध ७.७८ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहितका व्यक्तिहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार महरामाथि ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

सुन तस्करहरूसँग करोडौँ लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौँ राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो ।

विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाबाट २०७९ पुस १० गते फ्लाइ दुबईको उडानमार्फत आएका चिनियाँ ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो ।

एक्स–रे जाँचमा शंकास्पद देखिए पनि सम्बन्धित कर्मचारीहरूले आवश्यक कडाइका साथ जाँच नगरी सामग्री जफत गरेर पछि मिलेमतोमा परिवर्तन गर्ने योजना बनाएको आरोप छ ।

आरोपपत्रमा भन्सारका कर्मचारीहरूले जफत गरिएको सामग्री सुरक्षित गोदाममा नराखी प्रमुख भन्सार अधिकृतको कार्यकक्षमै राखेको, पछि गोदाममा सार्दा सीसीटीभी नदेखिने स्थानमा राखी सुन भएको भेप हटाएर सुन नभएको भेप राखिएको उल्लेख छ । साथै, जफत सामग्रीबाट निकालिएको सुन बाहिर बिक्री वितरण गरिएको समेत खुलासा भएको छ ।

यस प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराले समेत चिनियाँ तथा अन्य विदेशी नागरिकहरूसँग मिलेमतो गरी भन्सार अधिकारीहरूलाई प्रभावमा पारेर अवैध रूपमा सुन छुटाउने प्रयास गरेको आरोप छ । अनुसन्धानबाट कुल ८,४८०.५१५ ग्राम सुन हिनामिना गरिएको पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस