गण्डकीका लेखा अधिकृत पौडेलविरुद्ध साढे २ करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

अनलाइनसमय |
२३ चैत २०८२
गण्डकीका लेखा अधिकृत पौडेलविरुद्ध साढे २ करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं, २३ चैत । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा सोमबार मुद्दा दायर गरेको हो ।

पौडेलले गैरकानुनी तबरले आर्जन गरेको सम्पत्तिमध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ ।

अनुसन्धानबाट पौडेलले आफ्नो र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा रहेको २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ १४ पैसा गैरकानुनी रूपमा आर्जन गरेको देखिएको छ । उक्त रकमको वास्तविक स्रोत लुकाउन उनले ऋण सापटी लिएको देखाउने, नक्कली कागजात तयार गर्ने तथा विभिन्न व्यक्तिहरू मार्फत रकमको स्रोत, प्रकृति र स्वामित्व लुकाउने प्रयास गरेको पाइएको छ ।

त्यसैगरी, उनले फिर्ता गरेको भनी देखाइएको करिब रु. २ करोड ५३ लाख बराबरको रकम पनि विभिन्न जटिल कारोबारमार्फत घुमाइएको अनुसन्धानबाट खुलेको छ । यसरी उनले गैरकानुनी रूपमा आर्जित कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसाको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति रूपान्तरण र स्वामित्व परिवर्तन गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

यसबाहेक, हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेलले समेत गैरकानुनी सम्पत्तिको स्रोत लुकाउन सहयोग गरेको देखिएको भन्दै उनीहरूलाई मतियारका रूपमा मुद्दा चलाइएको छ । उनीहरूविरुद्ध क्रमशः रु. २ करोड २३ लाख, रु. १ करोड ६३ लाख ६ हजार र रु. १ करोड ३८ लाख बिगो कायम गरी मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस