काठमाडौं, १८ चैत । अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ३१ मार्चमा लेभल २ को एडभाइजरी जारी गर्दै नेपाल यात्रा गर्दा थप सतर्कता अपनाउन आग्रह गरेको छ । एभाइजरी लेभल घटाएर २ मा झारिएको छ । लेभल–२ ले थप सावधानी अपनाउनुपर्ने संकेत गर्छ ।
गत भदौमा भएको जेनजी आन्दोलनलगायतका घटनापछि कडाइ गरिएको ट्राभल एड्भाइजरी (यात्रा परामर्श) हाल घटाइएको हो । ‘सेप्टेम्बर २०२५ देखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, विशेषगरी शहरहरूमा प्रदर्शन र स्थानीय अशान्ति अझै हुन सक्छन्,’ एडभाइजरीमा भनिएको छ, ‘प्रदर्शनहरू बिना पूर्वसूचना सुरु हुन सक्छन् र छिट्टै हिंसात्मक बन्न सक्छन् । ठूलो भीडबाट टाढा रहनुहोस् र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्नुहोस् ।’
स्वास्थ्य सेवातर्फ, काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि अत्यधिक भीड, उपकरण तथा औषधिको कमी र उपचारअघि भुक्तानी मागिने समस्या रहेको जनाइएको छ । साथै, विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नव्यहोर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी, यात्राका क्रममा आवश्यक औषधि साथमा ल्याउन र मेडिकल इभ्याकुएसन समेटिएको यात्रा बिमा अनिवार्य गर्न सिफारिस गरिएको छ ।
प्राकृतिक जोखिमबारे पनि सचेत गराउँदै एड्भाइजरीमा नेपालमा भूकम्प, बाढी र पहिरोको सम्भावना नियमित रहने उल्लेख छ । विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने, जसले सडक अवरुद्ध गर्नुका साथै आपत्कालीन सेवामा अवरोध पु¥याउन सक्ने चेतावनी दिइएको छ ।
नेपाल यात्रा गर्ने नागरिकलाई अमेरिकी दूतावास वा कन्सुलेटमार्फत उपलब्ध हुने सूचना तथा अलर्टमा दर्ता हुन, स्थानीय समाचार नियमित रूपमा अवलोकन गर्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न पनि आग्रह गरिएको छ ।