ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइनसमय |
११ चैत २०८२
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं, ११ चैत । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ५१ नेपालीको उद्धार गरिएको छ । दूतावासका अनुसार उद्धार गरिएकाहरु अवैधरूपमा सञ्चालन गरिएका अनलाइन अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।

कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ ।

यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ । साथै, त्यहाँ अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा लगाइएका वा भिसा अवधि नाघेर बसिरहेका नेपालीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।

यस्तै, ठगी केन्द्रहरूमा काम गराइएका धेरै नेपालीहरूको राहदानी कम्पनीहरूले जफत गर्ने वा हराएको गुनासो आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा नेपाल फर्किनका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपालीहरु कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस