राजेश हमलाको नाममा भ्रष्टाचार गर्ने पालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर

अनलाइनसमय |
५ चैत २०८२
राजेश हमलाको नाममा भ्रष्टाचार गर्ने पालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ५ चैत । अभिनेता राजेश हमालको नाम देखाएर भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरी वृत्तचित्र बनाएको भन्दै १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले पालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । त्यस्तै, आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर)विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

हमालको नाम जोडेर व्यक्तिगत निर्देशनमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि १२ लाख ७७ हजारभन्दा बढी भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

आवश्यक बजेट नै विनियोजन नभएको अवस्थामा चलचित्र निर्माणका नाममा सम्झौता गरिएको, सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लंघन गर्दै प्रतिस्पर्धाबिनै सोझै खरिद प्रक्रिया अघि बढाइएको आरोपपत्रमा उल्लेख छ । २०८१ भदौ १८ गते सम्झौता गरिएको उक्त परियोजनालाई पछि कार्यपालिकाको बैठकमार्फत अनुमोदन गरिएको उल्लेख छ ।

त्यस्तै, कानुनले तोकेको २० प्रतिशत सीमाभन्दा बढी ३५ प्रतिशतसम्म अग्रिम पेश्की दिइएको र बैंक जमानत नलिई समेत रकम उपलब्ध गराइएको देखिएको छ ।

चलचित्र निर्माणका नाममा पेश गरिएका बिलहरू समेत वास्तविक प्रमाणित नदेखिएको र झुट्टा कागजातको आधारमा थप भुक्तानी गरिएको दाबी गरिएको छ ।
अख्तियारले पालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस