काठमाडौं, २९ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ । आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु निर्विरोध (सर्वसम्मत) चयन भएका छन् ।
निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन् । यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मेदवारहरू अध्यक्षका प्रत्यासी रोविन प्रसाद शेरचनको टिमका रहेका छन् ।
संघको पदाधिकारी तहमा विशेषगरी महिलातर्फका पदहरुमा सर्वसम्मतिको अवस्था देखिएको छ । महिला उपाध्यक्ष पदमा हङकङकी राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ । त्यस्तै, महिला सचिव पदमा चीनबाट अमृता थापा (कञ्चन) र महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट गंगा खतिवडा सर्वसम्मत भएका छन् । यी महत्त्वपूर्ण पदहरुमा अन्य उम्मेदवारको मनोनयन नपर्नुलाई शेरचन समूहको बलियो रणनीतिको रुपमा हेरिएको छ ।
क्षेत्रीय संयोजक (आरसी) जस्तो महत्त्वपूर्ण कार्यकारी भूमिकामा पनि विभिन्न क्षेत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अफ्रिका क्षेत्रको संयोजकमा सेसेल्सबाट मनोज बी.के., अमेरिकाज क्षेत्रको संयोजकमा क्यानडाबाट भुवन खरेल, युरोप क्षेत्रको संयोजकमा पोर्चुगलबाट रोबोट लिम्बु र ओसियाना क्षेत्रको संयोजकमा अष्ट्रेलियाबाट रमेश जोशी निर्विरोध भएका छन् ।
क्षेत्रीय महिला संयोजक तथा युवातर्फका पदहरुमा पनि धेरै उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । क्षेत्रीय महिला संयोजकतर्फ अमेरिकाजबाट छात्रा कुमारी गुरुङ, एसिया प्यासिफिकबाट संगीता अधिकारी (सुवेदी) सर्वसम्मत भएका छन् । मध्यपूर्वको क्षेत्रीय महिला उपसंयोजकमा यूएईकी मञ्जु मल्ल (उचाई) को मात्र मनोनयन परेको छ । त्यसैगरी, दोस्रो पुस्ता संयोजक (सेकेन्ड जेनेरेसन कोर्डिनेटर) मा हङकङकी दीपमाला ढकाल निर्विरोध भएकी छन् भने युरोपको क्षेत्रीय युवा उपसंयोजकमा शिव सागर बुढाथोकी र मध्यपूर्वको युवा उपसंयोजकमा बासुदेव सापकोटा सर्वसम्मत भएका छन् ।
त्यस्तै, कतिपय पदहरुमा माग गरिएको संख्या भन्दा कम वा बराबर मात्र उम्मेदवारी पर्दा उनीहरु पनि स्वतः सर्वसम्मत भएका छन् । अमेरिकाजको क्षेत्रीय उपसंयोजक (३ पद) का लागि नेत्र पाण्डे र सरोज अर्याल, मध्यपूर्वको उपसंयोजक (३ पद) का लागि बिकल झा र विकास शाही तथा ओसियानाको उपसंयोजक (३ पद) का लागि अरुण कुमार ठाकुर र छवी प्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा डा. हेमराज शर्मा, रबिन राज बज्राचार्य र रोविन प्रसाद शेरचनबीच कडा प्रतिस्पर्धा हुने देखिए पनि मनोनयनको प्रारम्भिक सूची सार्वजनिक हुँदा शेरचन समूहले महिला र क्षेत्रीय समितिहरुमा क्लिन स्वीप गरेको हो । निर्वाचन समितिले फागुन ३० गतेदेखि चैत १ गतेसम्म (मार्च १४–१५) काठमाडौँमा निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ ।