सुनिता सुवेदी,
काठमाडौं, २७ फागुन । समाजसेवा, महिला सशक्तीकरण र शिक्षा अभियानमा लामो समयदेखि काम गर्दै आएकी बिना गुरुङ नीतिगत तहबाट परिवर्तन ल्याउने लक्ष्यसहित पहिलोपटक संघीय संसद्मा प्रवेश गरेकी छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिनाले ३७ हजार ७५० मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे । यसरी बिनाले २४ हजार ९७० मतान्तरले मनोजलाई पराजित गर्दै विजय हासिल गरिन् । गण्डकी प्रदेशबाटै प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने उनी एकमात्र महिला हुने छिन् । यस प्रदेशबाट प्रत्यक्षतर्फबाट अरू महिलाले जितेका छैनन् ।
पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना अचानक राजनीतिमा आइपुगेकी होइनन् । उनको राजनीतिक यात्राको जग दशकौंको सामाजिक सक्रियता र सामुदायिक नेतृत्वमा आधारित छ ।
यसअघि बिना शिक्षा र महिला सशक्तिकरणसँग सम्बन्धित सामाजिक अभियानहरूमा संलग्न थिइन् । उनले सञ्जीवनी दिदीबहिनी संघकी अध्यक्षका रूपमा काम गरिरहेकी थिइन् । यो संस्था विशेषगरी दुर्गम क्षेत्रका गरिब तथा विपन्न परिवारका बालिकालाई शिक्षा दिन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।
यस संस्थामार्फत छात्रवृत्ति कार्यक्रम, शैक्षिक सामग्री वितरण, मार्गदर्शन कार्यक्रम र नेतृत्व विकास तालिम जस्ता गतिविधि सञ्चालन गरिएका थिए । आर्थिक अभावका कारण पढाइ छोड्ने अवस्थामा पुगेका बालिकालाई विद्यालयमै टिकाइराख्न सहयोग गर्ने काममा उनी सक्रिय थिइन् ।
सामाजिक संस्थामार्फत काम गर्दै उनले शिक्षा मात्र नभई महिला नेतृत्व विकास र सीप विकास कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्थिन् । ग्रामीण समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम, सचेतना कार्यक्रम र नेतृत्व विकास गतिविधि सञ्चालन गर्ने गर्थिन् । यी कामले नै उनलाई सामाजिक अभियन्ताका रूपमा पहिचान दिलायो ।
यसैगरी बिना तमु धिँ नेपालको केन्द्रीय सदस्य पनि हुन् । उनी हाल लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको पूर्व अध्यक्ष तथा लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ जे को वरिष्ठ सल्लाहकार समेत छिन् । सिर्जना संसार कोसेली घरको सल्लाहकार, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको आजीवन सदस्य तथा ट्रष्टी, हिमाली सांस्कृतिक परिवार नेपालको आजीवन सदस्य र कोपिला नेपालको सल्लाहकारको रूपमा विभिन्न सामाजिक कार्यमा संलग्न छिन् । बिनाको श्रीमान्, एक छोरा र एक छोरी छन् । उनी २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला पनि विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहेकी थिइन् ।
व्यावसायिक क्षेत्रमा पनि उनको बलियो उपस्थिति छ । उनी पञ्चासे केबलकारको सञ्चालक समिति सदस्य र गोल्डेन साकोसको उपाध्यक्ष समेत हुन् ।
बेथितिको अन्त्य नीतिगत तहबाटै हुने बोध
सामाजिक क्षेत्रमा लामो समय काम गर्दा उनले समुदायका समस्या प्रत्यक्ष रूपमा देखिन् । शिक्षा, बेरोजगारी, महिला सहभागिता र विकासका अवसरका विषयहरू उनको नजरमा प्रमुख मुद्दा बने । यही अनुभवले उनलाई सामाजिक अभियानले मात्र पर्याप्त नहुने, नीतिगत तहमा काम गर्नुपर्ने आवश्यकताको महसुस गरायो ।
यही सोचका साथ राजनीतिमा प्रवेश गरेकी बिना राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध भइन् । त्यसपछि उनले गण्डकी प्रदेश पार्टी कोषाध्यक्षको जिम्मेवारी सम्हालिन् प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको गण्डकी प्रदेशबाट एकमात्र महिला उम्मेदवारका रूपमा कास्की–३ बाट उम्मेदवारी दिइन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उनलाई त्यति सहज थिएन ।
महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सामाजिक समानता र नेतृत्वमा महिलाको पहुँच विस्तार जस्ता ऐजेन्डा लिएर उनी चुनावी मैदानमा उत्रिएकी थिइन् । यसैबीच कास्की–३ बाट बिना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन् । त्यहाँका मतदाताले स्थानीय नेतृत्व, अनुभव र क्षेत्रसँगको सम्बन्धलाई प्राथमिकता दिएर उनलाई मत दिए ।
यसरी सामाजिक अभियन्ताबाट सुरु भएको बिनाको यात्रा अब संघिय संसद्सम्म पुगेको छ । आगामी दिनमा उनले संसद्मा उठाउने आवाज र गर्ने पहलले सामाजिक क्षेत्रका मुद्दालाई कति प्रभावकारी रूपमा अघि बढाउँछिन् भन्नेतर्फ धेरैको ध्यान केन्द्रित भएको छ ।
समुदायसँग लामो समय काम गरकी उनले संसद्मा गाउँ–सहरको वास्तविक समस्या र आवश्यकता बुझेर यथार्थपरक नीति र कार्यक्रमको प्रस्ताव राख्न सक्ने कास्कीका नागरिकको अपेक्षा छ ।