काठमाडौं, २६ फागुन । हाल मौषमी प्रतिकुलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । बिशेष गरी काठमाण्डौ, पोखरा लगायत देशका ठुला सहरहरुका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पीएम’ प्रदुषण २.५ पुगेको छ ।
वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आमनागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । बिहान र बेलुकाको समयमा वायु प्रदुषण उच्च हुने गरेको विभागले सूचनामा भनेको छ ।
चिसो मौसम, लामो समय वर्षा नहुनुु, उद्योग–कलकारखाना, सवारी साधन, फोहोर र बालीनाली जलाउने गतिविधि तथा देश बाहिरबाट आउने प्रदूषणले वायु प्रदूषणको स्तर बढाएको छ । विभागले बालबालिका, बृद्ध–वृद्धा र दम तथा श्वास–प्रश्वास सम्बन्धी रोगीहरूमा बढी असर पर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसैगरी, वन जंगलमा डढेलो लनागाउन र लागिहाले तत्काल निभाउन, सवारी साधनको नियमित मर्मत–संभार गर्न, फोहोर तथा बाली नालीका अवशेष नजलाउन, निर्माण गतिविधि गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग–कलकारखाना संचालन गर्दा सरकारले तोकेका मापदण्डहरू पालना गर्न विभागले अनुरोध गरेको छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदुषण न्यूनिकरण गर्न सम्भव र सहज हुने भएकोले त्यसका लागि विभागले सबैलाई अनुरोध गरेको छ ।
