एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

अनलाइनसमय |
२४ फागुन २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

काठमाडौं, २४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौंमा चुनावी चहलपहल तीव्र बनेको छ । फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन् ।

संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए । शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन् ।

विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ । अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेर मात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन् । उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न एक सार्वजनिक अपिल समेत जारी गरेका थिए ।

यसैबीच, शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को बैठक बसेको छ । बैठकमा मध्यपूर्वको तनाव लगायतका समस्याका कारण अनलाइनबाटै उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्थाबारे छलफल भएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने निर्णय भएको छ ।

बैठकमा सहभागी अधिकांश अभियन्ताहरूले विवाद समाधान नभए अक्टोबरमै महाधिवेशन सार्न वा सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए । यद्यपि, अध्यक्ष बद्री केसीले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन् ।

नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्माबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, संस्थालाई थप विभाजनबाट जोगाउन र एकता कायम गर्न हेमराज शर्माभन्दा शेरचनको नाममा सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्न धेरैजसो अभियन्ताहरूले सुझाव दिएका छन् ।

शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको भन्दै अहिलेको अवस्थामा चुनाव नगरी आफ्नो नाममा सहमति गरिनुपर्ने बताए । उनले यदि सहमति नहुने हो भने निर्वाचनकै माध्यमबाट पनि चुनाव जित्ने सहज रहेको भन्दै त्यसका लागि तयार रहेको बताए । शेरचनले भौतिक उपस्थितिमै महाधिवेशन सबैभन्दा उत्तम रहेको समेत बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस