काठमाडौं, ६ फागुन । ममता शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य रहेकी उनले पार्टीको निर्णय प्रक्रिया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।
राजीनामा पत्रमा उनले युवालाई अवसर दिने र योग्य व्यक्तिलाई छनोट गर्ने नाराबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख गर्दै आसन्न फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र व्यवहार स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत गएको अनुभव गरेको बताएकी छन् ।
उनले संगठनमा सक्रिय रूपमा खटिएका कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि भएको र पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाइन् । साथै, आर्थिक अनियमितताले निर्णय प्रक्रियामा प्रभाव पारेको दाबी गर्दै त्यस्ता गतिविधिको साक्षी बसेर मौन रहन नसक्ने भन्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको बताइन् ।