काठमाडौं, ४ माघ । नेपाल सरकारले गत मार्चमा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई ३ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डलेस्थित महा मुनी पगोडा परिसरमा आयोजित एक समारोहमा पगोडा ट्रस्टीका महासचिव यू थान ऊलाई ३ लाख अमेरिकी डलर बराबरको सहयोग रकम हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।
साथै राजदूत घिमिरेले मण्डलेको गंगाघाटमा आयोजित अर्को समारोहमा गंगाघाट हिन्दू मन्दिर ट्रस्टीका अध्यक्ष पवन बजोरियालाई ५० हजार अमेरिकी डलर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै राजदूत घिमिरेले नेपाल र म्यानमारले कठिनतम समयमा एकअर्कालाई साथ दिँदै आएको उल्लेख गरे । उनले सन् २०२५ को मार्च महिनामा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको मण्डलेस्थित महा मुनी पगोडा परिसरभित्र रहेको शिला लेख गृह (स्टोन इन्स्क्रिप्सन हाउस) को पुनर्निर्माणका लागि नेपाल सरकारले उक्त सहयोग उपलब्ध गराएको जानकारी दिए । नेपालको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मण्डले सहरका मेयर यू क्याव सानले नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरे ।
समारोहमा स्थानीय नेपाली समुदायका सदस्यहरू, साथै अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष श्री सागर घिमिरेको उपस्थिति रहेको थियो ।
