काठमाडौं, ४ फगुन । चुनावै नभई नतिजा सार्वजनिक भएकोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रेनु दाहालले आपत्ति जनाएकाी छन् ।
मत सर्वेक्षणको नाममा सञ्चारमाध्यममा नतिजा सार्वजनिक भएपछि दाहाल आपत्ति जनाएकी हुन् । दाहालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएकी छन् ।
‘मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ दाहालले फेसबुकमा लेखेकी छन्, ‘यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन÷प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्छु ।’
हाल घरदैलो अभियानमा व्यस्त रहेकी दाहालले आम मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले आफू अत्यन्त उत्साहित बनेको उल्लेख गरेकी छन् । उनले चितवन जिल्ला क्षेत्र नं. ३ मा जनतासँगको भेटघाटले थप ऊर्जा दिएको बताएकी छन् ।
दाहालले भरतपुर महानगरपालिका मा नौ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै आफ्नो प्रतिबद्धता र इमान्दारिताकै कारण जनताबाट अपार स्नेह पाएको अनुभूति गरेको जनाएकी छन् ।
साथै, निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल, सञ्चारमाध्यम र मतदातासँग सहकार्यको अपेक्षा पनि व्यक्त गरेकी छन् ।
