काठमाडौं, २७ माघ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिता उल्लंघन हुने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई सचेत गराएको छ । आज (माघ २७ गते) जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीद्वारा जारी सूचनामा सो दिन रास्वपाको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम आयोजना हुने सूचना प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०८२ अनुसार कुनै पनि प्रतिबन्धित गतिविधि नगर्न तथा नगराउन आग्रह गरिएको उल्लेख छ ।
प्रशासनले यसअघि नै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा आइसकेको जनाउँदै सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।