काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार प्रतिष्ठानका लागि सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा गुणस्तरहीन उपकरण आपूर्ति गरी आर्थिक अनियमितता गरिएको पाइएकोले बिहीबार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
मुद्दामा तत्कालीन उपकुलपति भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम वि.सी., बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी र लेक्चरर डा. श्रीसिया पोखरेललाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आई.टी. अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीब बस्नेत, फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकार समेतलाई प्रतिवादी बनाइएको छ ।
आयोगको अनुसन्धान अनुसार प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउँदा सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लङ्घन गर्दै बदनियतपूर्वक प्रक्रिया अघि बढाएको देखिएको छ ।
यस प्रकरणबाट नेपाल सरकार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको आर्थिक हानी नोक्सानी पुगेको निष्कर्ष निकालिएको छ । सोही रकम बराबरको बिगो कायम गरी प्रतिवादीहरूबाट बिगो असुल उपर गरिनुका साथै कैद र जरिवानाको सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।